धनगढी : धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । यस अघिका बर्ष बैशाख १ गते गर्दै आएको आयोजना यस बर्ष बैशाख १८ गते हुन लागेको हो । धनगढी जेसिजको आयोजनामा प्रतियोगिता हुने जनाइएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी गराएको हो ।
“अब धनगढी दौडिन्छ” भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताको तीव्र तयारी भइरहेको धनगढी जेसिजका अध्यक्ष महेश्वर ओझाले बताए ।
यस पटक प्रतियोगिताको विजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ५५ हजार ५ सय ५५ र तेस्रो हुनेले ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक दीपेश बोहराले जानकारी दिए । उनले १२ औँ संस्करण अहिलेसम्मकै भव्य रूपमा आयोजना हुने जनाए ।
१८ गते बिहान ६ बजे धनगढी रंगशालामा मुख्यमन्त्री कमल बहादुर शाहले प्रतियोगिताको उद्घाटन गर्ने छन । उद्घाटन क्षेत्रबाट गेटा मेडिकल कलेज हुँदै पुनः रंगशालासम्मको २१.१ किलोमिटर दौड हुनेछ ।
प्रतियोगितामा ५ किलोमिटरको महिला तथा कर्पोरेट दौड पनि आयोजना गरिने भएको छ । दुवै प्रतियोगिताका विजेताले ७ हजार ७ सय ७७, दोस्रो हुनेले ५ हजार ५ सय ५५ र तेस्रो हुनेले ४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछन् ।
यस पटकको दौडलाई लागूऔषधविरुद्धको अभियानका रूपमा लिइएको धनगढी जेसिजले जनाएको छ । सबैभन्दा धेरै रक्तदान गर्ने दीपक उपाध्यायलाई आकर्षणको केन्द्रका रूपमा राखिएको छ । प्रतियोगितामा सहभागीमध्ये एक जनालाई चिट्ठामार्फत पनि पुरस्कार दिइने बताइएको छ । निसर्ग अस्पतालले सहभागीमध्ये गोलाप्रथाबाट छनोट भएका तीन जनालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएको छ ।