अत्तरिया : गोदावरी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । नगरभित्रका खोप लगाउने उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप प्राप्त गरेको सुनिश्चित भएपछि बिहीबार एक कार्यक्रमका बिच नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
जन्मेदेखि १५ महिनासम्मका बालबालिकाले अनिवार्य रूपमा सबै खोप लगाइसक्नुपर्ने व्यवस्था रहेको छ । सो अवधिमा खोप छुटेका बालबालिकालाई १६ देखि ५९ महिनाभित्र आवश्यक खोप लगाइने व्यवस्था अनुसार नगरपालिकाले छुटेका बालबालिकासमेत समेटेर पूर्णखोप सुनिश्चितता हासिल गरेको जनाएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार आर्थिक वर्ष २०८२\०८३ मा ० देखि ५ वर्ष उमेर समूहका कुल ४ हजार ३ सय २१ बालबालिकामध्ये ३ जना कुनै पनि खोप नलिएका र ६७ जना आंशिक रूपमा खोप पाएका थिए । ती सबै बालबालिकालाई खोजी गरी आवश्यक खोप प्रदान गरिएपछि सबैले पूर्णखोप प्राप्त गरेको सुनिश्चित गरिएको हो । यससँगै नगरपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीका अनुसार राष्ट्रिय खोप तालिका बमोजिम नगरका १२ वटै वडामा खोप लगाउने उमेर समूहका बालबालिकाले खोप प्राप्त गरेको सुनिश्चित गरिएपछि पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । उनका अनुसार यस्तो सुनिश्चितताको सर्वेक्षण तथा घोषणा स्थानीय तहहरूले प्रत्येक वर्ष गर्नुपर्ने व्यवस्था रहेको छ ।
पूर्ण खोपको दिगोपना कायम राख्न नगरपालिकाले हरेक वर्ष चैत महिनामा नियमित खोपको घरदैलो सर्वेक्षण गर्ने, उमेर अनुसार खोप पाए–नपाएको यकिन गर्ने तथा छुटेका बालबालिकालाई वैशाख महिनामा खोप दिने व्यवस्था गर्दै आएको जनाएको छ । प्रत्येक वडामा गठन गरिएका वडा स्तरीय खोप समन्वय समितिले बालबालिकाले खोप प्राप्त गरेको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको कार्यक्रममा जानकारी दिएको छ ।
गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, प्रमुख प्रशासकीय अधिकृत धर्म राज बिनाडी, जिल्ला जनस्वास्थ्य कार्यालय धनगढीका प्रतिनिधि, स्वास्थ्य शाखा प्रतिनिधि, खोप केन्द्र प्रमुख, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, वडाध्यक्ष तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।