अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ बासपानी क्षेत्रमा वन कार्यालयले अतिक्रमण हटाउने क्रममा निजी संरचना तथा सम्पत्तिमा क्षति पुगेको भन्दै स्थानीय पीडितहरूले सरकारसमक्ष विभिन्न मागहरू प्रस्तुत गरेका छन्।
पीडितहरूले अतिक्रमण हटाउने नाममा निजी सम्पत्तिमा तोडफोड गर्ने वन अधिकृत तथा कर्मचारीहरूको निष्पक्ष छानबिन गरी कानुन बमोजिम कारबाही गर्न माग गरेका छन्।
साथै, अमानवीय व्यवहार तथा कार्यमा संलग्न सबै व्यक्तिमाथि पनि अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्ने उनीहरूको भनाइ छ। स्थानीयवासीहरूले सामुदायिक वन क्षेत्र छुट्याएर आफूहरूको दीर्घकालीन बसोबासको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरेका छन्। उनीहरूले घटनाका क्रममा एक नाबालिकालाई थुनामा राखिएको विषयप्रति गम्भीर ध्यानाकर्षण गराउँदै त्यसबारे निष्पक्ष छानबिन गरी न्याय दिलाउन माग गरेका छन्।
त्यसैगरी, अतिक्रमण हटाउने क्रममा भिरबाट खसालिएको टेम्पो, घर, गोठ तथा बारीमा भएको क्षतिको उचित मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग पनि गरेका छन्।
पीडितहरूले सामाजिक सद्भाव खलबल्याउने गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन आग्रह गरेका छन्। साथै, काटिएका खानेपानीका पाइप तथा अवरुद्ध विद्युत् सेवा तत्काल पुनः सञ्चालन गर्न सम्बन्धित निकायसँग अनुरोध गरेका छन्। स्थानीयवासीहरूले नापी–नक्सा तथा चार किल्ला प्रमाणित जग्गाको लालपुर्जा वितरण गर्न समेत सरकारसँग माग गरेका छन्।
पीडितहरूको भनाइअनुसार आफ्ना जायज मागहरू सम्बोधन नभएसम्म सम्बन्धित निकायले समस्याको दीर्घकालीन समाधान खोज्न पहल गर्नुपर्ने आवश्यकता रहेको छ।