अत्तरिया : हेमा श्री फाउण्डेशन नेपालको आयोजना तथा अमर माध्यमिक विद्यालय बनबेहडा, कैलालीको समन्वयमा वडा स्तरीय हाजिरीजवाफ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
गौरीगंगा नगरपालिका–६ अन्तर्गतका चार विद्यालयका विद्यार्थीबीच आयोजित उक्त प्रतियोगिताले आधारभूत तहका विद्यार्थीहरूको बौद्धिक क्षमता, सामान्य ज्ञान तथा आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ।
कार्यक्रम संयोजक तथा हेमा श्री फाउण्डेशन नेपालका कार्यवाहक अध्यक्ष हेमन्तराज जोशी (बाजे) का अनुसार प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूको ज्ञानको स्तर मापन गर्नुका साथै उनीहरूमा सिर्जनात्मक सोच, तार्किक क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गरेका थिए ।
हेमा श्री फाउण्डेशन नेपालका कार्यवाहक अध्यक्ष बाजेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका संस्थापक उपकुलपति डा. टीएन जोशी प्रमुख अतिथि थिए । कार्यक्रममा अमर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर कुँवर तथा प्रधानाध्यापक उजिरसिंह कुँवर विशिष्ट अतिथि रहेका थिए । त्यसैगरी कैलाली भिजन स्कूलका प्रधानाध्यापक ध्वज बोगटी, जुपिटर एकेडेमी नेपालका प्रधानाध्यापक मनिराम धामी, विणा विद्या मन्दिरका प्रधानाध्यापक दल बोगटी, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. टीएन जोशीले हाजिरीजवाफ प्रतियोगिता विद्यार्थीहरूको बौद्धिक विकाससँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण शैक्षिक गतिविधि भएको बताए। उनले पछिल्लो समय नेपालका विद्यालयहरूमा यस्ता प्रतियोगिताप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गर्दै हेमा श्री फाउण्डेशनले शिक्षा क्षेत्रमा पुर्याउँदै आएको योगदानको खुलेर प्रशंसा गरे।
प्रतिस्पर्धात्मक प्रतियोगितामा सहभागी चार विद्यालयमध्ये विणा विद्या मन्दिर प्रथम, जुपिटर एकेडेमी नेपाल द्वितीय, अमर माध्यमिक विद्यालय तृतीय तथा कैलाली भिजन स्कूल सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए।
विजयी विद्यार्थीहरूलाई प्रमुख अतिथि तथा अतिथिहरूले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए। प्रथम स्थान हासिल गर्ने विणा विद्या मन्दिरका चार जना विद्यार्थीलाई पाँचरपाँच वटा कपी, ज्यामितीय बक्स, एक दर्जन डटपेन र प्रमाणपत्र प्रदान गरिएको थियो। द्वितीय स्थान प्राप्त जुपिटर एकेडेमी नेपालका चार जना विद्यार्थीलाई पाँचरपाँच वटा कपी, एक दर्जन डटपेन तथा प्रमाणपत्र प्रदान गरियो। तृतीय स्थान प्राप्त अमर माध्यमिक विद्यालयका चार जना विद्यार्थीलाई पाँचरपाँच वटा कपी र प्रमाणपत्र प्रदान गरिएको थियो भने सान्त्वना स्थान प्राप्त कैलाली भिजन स्कूलका चार जना विद्यार्थीलाई एक\एक दर्जन डटपेन वितरण गरिएको थियो।
प्रतियोगिताको निर्णायक मण्डलमा मेखराज जोशी, ध्वजबहादुर बोगटी र निर्मल भण्डारी रहेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षक नविन विष्टले गरेका थिए ।
हेमा श्री फाउण्डेशन नेपालले विगतदेखि नै गरिब, असहाय तथा अवसरबाट वञ्चित समुदायका बालबालिकालाई लक्षित गरी शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ। फाउण्डेशनले यस्ता शैक्षिक गतिविधिमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्दै आएको स्थानीयवासीहरूले बताएका छन्।