अत्तरिया : गोदावरी नगरपालिका वडा नं १० मालाखेती स्थित बिजयनगर टोलका स्थानीय बासिन्दाले विद्युतको कम भोल्टेज तथा आपूर्तिको समस्या समाधान गर्न माग गर्दै सोमबार नेपाल विद्युत प्राधिकरणको अत्तरिया ‘नो लाइट’ शाखा कार्यालय सोमबार घेराउ गरेका छन्।
स्थानीयका अनुसार बिजयनगर टोलमा लामो समयदेखि विद्युत भोल्टेज अत्यन्त कम हुने समस्या रहेको छ। कम भोल्टेजका कारण घरायसी विद्युतीय उपकरण सञ्चालन गर्न कठिनाइ हुनुका साथै दैनिक जीवन प्रभावित हुँदै आएको उनीहरूको गुनासो छ।
विशेषगरी अत्यधिक गर्मीको समयमा विद्युत आपूर्ति प्रभावकारी नहुँदा स्थानीय बासिन्दाले थप सास्ती खेप्नुपरेको बताएका छन्। हरेक वर्ष दोहोरिने यस समस्याको स्थायी समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन कार्यालय घेराउ गर्नुपरेको उनीहरूको भनाइ छ।
स्थानीयले अत्तरिया ‘नो लाइट’ सेवामार्फत विद्युत प्रवाह व्यवस्थापन सुधार गरी पर्याप्त भोल्टेज उपलब्ध गराउन माग गरेका छन्। उनीहरूका अनुसार उक्त टोलमा हाल एक फेजको मात्र विद्युत लाइन रहेको र त्यसकै कारण विद्युत आपूर्तिमा समस्या भइरहेको छ।
घेराउका क्रममा स्थानीय बासिन्दाले बिजयनगर टोलमा थप विद्युत पूर्वाधार विस्तार गरी तीन फेज लाइन जडान तथा विद्युत आपूर्ति व्यवस्थापनमा सुधार गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। स्थानीयले समस्या समाधानमा ढिलाइ भए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएका छन्।