स्थगित कोरा धनगढी २०२६ अब साउन ९ गते हुने

धनगढी  : प्रतिकूल मौसमका कारण स्थगित गरिएको कोरा धनगढी २०२६ अब साउन ९ गते, शनिबार आयोजना हुने भएको छ। ओम श्रीनगर स्पोर्ट्स क्लबको आयोजना तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को समन्वयमा साउन २ गते आयोजना हुने तय गरिएको उक्त सामूहिक साइकल यात्रा बिहानैदेखि परेको लगातार वर्षाका कारण स्थगित गरिएको थियो। सहभागीहरूको सुरक्षा र सहजतालाई मध्यनजर गर्दै कार्यक्रम अर्को मितिमा सारिएको आयोजकले जानकारी दिएको थियो ।

आयोजकका अनुसार अब साउन ९ गते शनिबार पूर्वनिर्धारित कार्यक्रमअनुसार कोरा धनगढी २०२६ सञ्चालन गरिनेछ । कार्यक्रममा सहभागी हुन इच्छुक सम्पूर्ण साइकलप्रेमीलाई नयाँ मितिमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन समेत आयोजकले आग्रह गरेको छ।

स्वस्थ जीवनशैलीको प्रवर्द्धन, वातावरण संरक्षण, कार्बन उत्सर्जन न्यूनीकरण तथा साइकललाई दिगो र वातावरणमैत्री यातायातका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुँदै आएको कोरा धनगढीले हरेक वर्ष सयौँ साइकलप्रेमीलाई एकै स्थानमा जोड्दै आएको छ।

यस वर्षको राइड धनगढीबाट सुरु भई शहीदगेट, राजघाट, गेटा , भल्का, वनबेहेडा सेहेरी, जाखाौंर ताल हुँदै पुनः धनगढीमै आएर सम्पन्न हुने कार्यक्रम रहेको छ। प्राकृतिक सम्पदा, पर्यावरण संरक्षण र स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य बोकेको यस अभियानले यसपटक पनि उत्साहजनक सहभागिता जुट्ने आयोजकको विश्वास रहेको छ।

आयोजकले मौसम अनुकूल रहेमा साउन ९ गते बिहान निर्धारित समयमै उपस्थित भई कोरा धनगढी २०२६ लाई भव्य रूपमा सफल बनाउन सम्पूर्ण सहभागी, साइकलप्रेमी तथा सरोकारवालालाई हार्दिक अनुरोध गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.