तत्काल संसद् बैठक बोलाउन कांग्रेसको माग

काठमाण्डौँ  : बिचौलियासँग जोडिएको प्रकरणमा प्रधानमन्त्री, न्यायालय र प्रहरीसमेत आरोपित हुने अवस्था सिर्जना भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उच्चस्तरीय छानबिनका लागि तत्काल संसद् बैठक बोलाउन माग गरेको छ ।

सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले पत्रकारमाथिको धरपकड र पछिल्ला विवादित सरकारी गतिविधिको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्नुपर्ने माग गरेको हो ।

सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाहरूको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको कांग्रेसको संसदीय दलको निष्कर्ष छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले न्याय सम्पादनको प्रक्रियासमेत विवादित रूपमा सार्वजनिक भइरहँदा त्यसबाट हुने न्याय कति निष्पक्ष र न्यायोचित हुन्छ भन्नेमा शंका उत्पन्न भएको बताए ।

‘अहिले बिचौलियासँग जोडिएको प्रकरणमा कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री, न्यायालय र प्रहरीसमेत आरोपित हुने अवस्था सिर्जना भएको छ । न्याय सम्पादन गर्ने प्रक्रियासमेत विवादित ढंगले सार्वजनिक भइरहँदा त्यहाँबाट सम्पादन हुने न्याय कति न्यायोचित र निष्पक्ष हुन्छ भन्ने विषयमा हामीलाई शंका उत्पन्न भएको छ,’ उनले भने ।

उनले यस विषयमा उच्चस्तरीय छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने र त्यसका लागि संसद्को बैठक बस्न आवश्यक रहेको बताए । संसद् बैठक आह्वानका लागि विपक्षी दलहरूसँग पनि छलफल गरिने उनले जानकारी दिए ।

कांग्रेसले पत्रकारमाथि भएको धरपकडप्रति पनि आपत्ति जनाएको छ । पक्राउको स्पष्ट कानुनी आधार, पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालन गरिनु स्वतन्त्र पत्रकारितामाथिको अनुचित दबाब र विधिको शासनविपरीतको स्वेच्छाचारिता भएको कांग्रेसको ठहर छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.