धनगढी : सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा बासुदेव जोशी चयन भएका छन् । शनिवार धनगढीमा सम्पन्न संघको दोश्रो साधारणसभाबाट जोशी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । लामो समयदेखि क्रिकेटजन्य गतिविधिमा सक्रिय जोशी पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टिमको छनोट समिति सदस्यमा रहेका थिए ।
जोशी डडेल्धुराबाट जिल्ला प्रतिनिधि भएर अध्यक्षमा चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा रमेशबहादुर बोहरा बैतडी, सचिव लक्ष्मणदत्त भट्ट कंचनपुर, कोषाध्यक्ष दिनेशसिंह डोटी, सदस्यहरुमा हरीरेग्मी कैलाली, शेरसिंह खत्री बैतडी, तेज कार्की दार्चुला, अनिल कुँवर अछाम, माया रावत साउँद महिला सदस्य कंचनपुर, रमेशबहादुर चन्द डोटी, जोगबहादुर दौल्याय बझाङ्ग, बाबुराजा श्रेष्ठ कैलाली र आशिष कुमार खत्री कंचनपुर निर्विरोध निर्वाचित भएका हुन । क्यानको आगामी असोजमा हुन गैरहेको केन्द्रिय अधिवेशनका लागि अहिले जिल्ला तहहुँदै प्रदेश अधिवेशनहरु सम्पन्न भैरहेका छन् ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरी रेग्मिको अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवा रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथिमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपकबहादुर सिंह रहेका थिए । त्यस्तै अतिथिमा क्यान केन्द्रिय सदस्यहरु बिरेन्द्र चन्द, बिक्रम बिस्ट लगायतको उपस्थिति रहेको थियो ।