एलपीएल प्रतियोगिता : धनगढी स्पोर्ट्स क्लब र युथ अफ टिकापुर विजयी

अत्तरिया, २२ मंसिर : कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ टिकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन् ।
समुह ’बि’ अन्तर्गतको खेलमा युथ अफ टिकापुरले दोश्रो जित दर्ता गर्ने क्रममा धनगढी क्रिकेट एकेडेमीलाई पराजित गर्यो । समुह ’ए’ अन्तर्गतको खेलमा धनगढी स्पोर्ट्स क्लबले शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनलाई पराजित गर्दै दोश्रो जित दर्ता गर्दै । जितसंगै युथ अफ टिकापुर र धनगढी स्पोर्ट्स क्लबले सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
शुक्रबार सम्पन्न पहिलो खेलमा युथ अफ टिकापुरले धनगढी क्रिकेट एकेडेमीलाई ३३ रनले पराजित गर्यो। युथ अफ टिकापुरले दिएको १३६ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर १०२ रन मात्र बनाउन सक्यो ।
धनगढीको लागि शार्थक धितालले सर्वाधिक ३७ रन बनाए । मान साउदले १८ तथा विजय रानाले १२ रनको योगदान दिए । युथ अफ टिकापुरको बलिंगमा प्लेयर अफ द म्याच घोषित गौतम केसीले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३० रन खर्चिए । सुमित महर्जनले २ तथा मोहम्मद हुसेन र प्रकाश जैसीले १\१ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको युथ अफ टिकापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३५ रन बनायो । युथ अफ टिकापुरको लागि हरि चौहानले सर्वाधिक २९ रन योगदान दिए भने गौतम केसीले २६, प्रदिप ऐरीले १४, प्रकाश जैसीले १३ रन बनाए । अतिरिक्तको रुपमा धनगढी क्रिकेट एकेडेमीले २६ रन खर्चियो । धनगढी क्रिकेट एकेडेमीको बलिंगमा लेग स्पिनर युवराज खत्री एक्लैले ४ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा मात्र ८ रन खर्चिए । निरज ऐरले २ तथा हिक्मत महरा र मान साउदले १\१ विकेट लिए ।
दोश्रो खेलमा धनगढी स्पोर्ट्स क्लबले शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनलाई ६ विकेटले पराजित गर्यो । शुक्लाफांटाले दिएको ११० रनको लक्ष्य धनगढीले १३.२ ओभरमा ४ विकेट गुमाएर भेटायो । धनगढी स्पोर्ट्स क्लबको लागि प्रनित थापाले अविजित अर्धशतकीय योगदान दिए । प्लेयर अफ द म्याच समेत घोषित भएका थापाले ३४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । बसन्त कार्कीले अविजित २७ रन बनाए । ३२ रनमा ४ विकेट गुमेको अवस्थामा थापा र कार्कीले पाँचौ विकेटको लागि अविजित ७८ रनको साझेदारी गरे । शुक्लाफांटाको बलिंगमा सुशील रावलले २ तथा कैलाश ऐर र बसन्त खत्रीले १\१ विकेट लिए । यस अघि टस जितेर ब्याटिंग गरेको शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनले २० ओभरमा ७ विकेट गुमाएर १०९ रन बनायो ।
शुक्लाफांटाको लागि किरण ठगुन्नाले सर्वाधिक २९ रन बनाए भने बिशाल ऐरले २३, रोशन साउदले १७ तथा बसन्त खत्रीले १३ रन योगदान दिए । धनगढी स्पोर्ट्स क्लबका बलर अमर सिंह रौटेलाले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र १० रन खर्चिए । भोज राज भट्टले २ विकेट तथा दिपक ठकुरी र भुवन कार्कीले १\१ विकेट लिए । प्रतियोगिता अन्तर्गत सातौँ दिन शनिवार पनि दुई खेल हुनेछन् । विहान ९ बजे युथ अफ टिकापुर र कैलाली मल्टिपल क्याम्पस तथा दिउँसो १ बजे सुदूरपश्चिमान्चल एकेडेमी र गरुडा नगरपालिका बीच खेल हुनेछ ।
लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो । प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.