अत्तरिया : बीए १५ फुटबल एकेडेमी लम्की र सुदूरपश्चिम ११ स्पोर्टस क्लब एनआरएनए छैटौं फारवेष्ट पशुपति कप २०८० फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत सोमबार धनगढी रङ्गशालामा भएको पहिलो खेलमा बीए १५ फुटबल एकेडेमीले सशस्त्र प्रहरी बल प्रदेश नम्बर ७ लाई २\१ ले हरायो । बीए १५ फुटबल एकेडेमीका लागि विदेशी खेलाडी गुइलामे डिन र विवेक सन्तोषीले एकएक गोल गरे । सशस्त्र प्रहरी बलका लागि गोविन्द सिंहले एक गोल फर्काए ।
पहिलो हाफको १४औं मिनेटमा गोल गर्दै गुइलामे डिनले बीए १५ लाई अग्रता दिलाए । पहिलो हाफको २७ औं मिनेटमा सशस्त्र प्रहरीका लागि गोविन्द सिंहले गोल गर्दै खेल १\१ को बराबरीमा ल्याए । खेलको अतिरिक्त समयको अन्तिम सेकेन्डमा विवेक सन्तोषीले गोल गर्दै बीए १५ फुटबल एकेडेमीलाई क्वाटरफाइनलमा पुराए । उनी खेलको म्यान अफ द म्याचसमेत बने । उनले नगद ५ हजारसहित ट्रफी पाएका छन् ।
दोस्रो खेलमा सुदूरपश्चिम ११ ले बाई पाउँदै अन्तिम आठमा स्थान बनायो । भारतीय क्लब सीएफसी कोलकाता अनुपस्थित भएपछि सुदूरपश्चिम ११ सोझै क्वाटरफाइनल पुगेको हो । क्वाटरफाइनलमा सुदूरपश्चिम ११ र बीए १५ फुटबल एकेडेमी प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताअन्तर्गत मङ्गलबारदेखि क्वाटरफाइनलका खेल हुनेछन् । पहिलो खेलमा स्टार सिटी युवा क्लब धनगढी र घोडाघोडी युवा क्लब सुखडले प्रतिस्पर्धा गर्नेछन् । दोस्रोमा पुनर्वास युनाइटेड र आयोजक फारवेष्ट पशुपति युवा क्लब खेल्नेछन् । पुस १४ गतेसम्म हुने प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख नगद पुरस्कार पाउनेछन् ।