अत्तरिया, ६ पुस : शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि जितेको हो । योसँगै समूह चरण र पहिलो क्वालिफायरमा व्यहोरेको हारको पनि जनकपुरले बदला लिएको छ ।
लिग चरणमा जनकपुर ७२ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले सुदूरपश्चिमसँगको खेल गुमाएको थियो । लाहिरु मिलान्थाको विस्फोटक ब्याटिङमा जनकपुरले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि उचालेको हो ।
शनिबार भएको फाइनलमा सुदूरपश्चिमले दिएको १ सय ८५ रनको विशाल लक्ष्य जनकपुरले ४ बलअगावै ५ विकेटको क्षतिमा भेट्टायो । जनकपुरको जितमा लाहिरु मिलान्थाले सर्वाधिक ८७ रनको योगदान दिए । ४९ बलमा ९ चौका र ४ चौका प्रहार गरेका मिलान्था स्कट कुग्लेजिनको बलमा कट एण्ड बोल्ड हुन पुगे ।
जनकपुरका कप्तान आशिफ शेख ३३ रन बनाउँदा सैफ जैवको बलमा म्याकमुलेनको हातबाट क्याच आउट भए । उनले १९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । मोहम्मद मोहसिन ९ रन बनाउँदा इसान पाण्डेको बलमा बोल्ड आउट भए । जेम्स निसम ४ रन बनाउँदा दिपृेन्द्रसिंह ऐरिको बलमा बोल्ड आउट हुन पुगे । आकाश भिपाठी २ रनमा रनआउट भए ।
हर्ष ठाकेर ३० र मयन यादव २ रनमा नटआउट रहे । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमाक ९ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको थियो ।
पहिलो विकेटका लागि विनोद भण्डारी र सैफले १२ ओभरमा १ सय १७ रनको साझेदारी गर्दै सुुदूरपश्चिमलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । १२ औँ ओभरको अन्तिम बलमा सैफ जैवलाई गुमाएको सुदूरपश्चिमले १३ औँ ओभरको दोस्रो बलमा विनोद भण्डारीलाई गुमाउन पुग्यो । ६९ रन बनाएका ओपनर सैफ जैव १२ औँ ओभरको अन्तिम बलमा ललित राजवंशीको बलमा किशोर महतोको हातबाट क्याच आउट भए । उनले ४३ बलमा ८ चौका २ छक्का प्रहार गरे । जैवले ३३ बलमा ५ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए ।
३१ बलमा १ चौका र ३ छक्का हानेका भण्डारी ४१ रन बनाउँदा ललितकै बलमा बोल्ड आउट भए । शीर्ष क्रमका ब्याटर क्रिजमा टिकेपनि तल्लो क्रमका ब्याटर केही दबाबमा देखिए । १५ औँ ओभरको अन्तिम बलमा हरमित सिंह १४ रन बनाउँदा मोहम्मद मोहसिनको बलमा वैकल्पिक फिल्डर हेमन्त धामीको हातबाट क्याच आउट भए ।
१४ रन नै बनाएका ब्राण्डोन म्याकमुलेन जेम्स निसमको बलमा बोल्ड आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी ९ रन बनाउँदा मोहसिनको बलमा नै धामीको हातबाट क्याच आउट भए । आरिफ शेख १ रन बनाउँदा मोहसिनको बलमा ललित राजवंशीको हातबाट आउट हुन पुगे । स्कट कुगेलिन १३ रा बनाउँदा किशोर महतोको बलमा बोल्ड आउट हुन पुगे । नरेश बुढाएर ८ रन बनाउँदा किशोरको बलमा शेर मल्लको हातबाट क्याच आउट भए ।
जनकपुरका मोहम्मद मोहसिन र किशोर महतोले समान ३ विकेट लिए । मोहसिनले आफ्नो स्पेलमा ३६ रन दिए । जेम्स निशम र ललित राजवंशीले समान एक विकेट आफ्नो नाममा गरे । ललितले आफ्नो स्पेलमा १ मेडन राख्दै १५ रन दिएर १ विकेट झारे। निसमले ४ ओभरमा ४४ रन खर्चेर मात्र १ विकेट लिए ।
सम्बन्धित पाेस्टहरु