अत्तरिया, २६ माघ : मातृभूमि जागरण अभियानका प्रस्तावक डा. भीम रावलले २०८४ को चुनावअघि सशक्त दल गठन गर्ने घोषणा गरेका छन् ।
एमालेबाट कारबाहीमा परेका रावलले हाल मातृभूमि जागरण अभियानमार्फत कसरी अघि बढ्ने भन्ने विषयमा देशव्यापी छलफल गरिरहेको बताए । तर आफूले गठन गर्ने दलको नाम मातृभूमि भने नरहने उनले बताए । शनिबार मातृभूमि जागरण अभियानको धनगढीमा सम्पन्न कैलाली–कञ्चनपुरको जागरण भेलालाई सम्बोधन गर्दै रावलले गलत प्रवृतिका विरुद्ध आवाज उठाउँदा एमालेले कारबाही गरेको बताए ।
एमालेमा ओली प्रवृति हावी भएको र गलत भयो भन्दा पार्टीबाटै निष्कासन गर्ने प्रवृतिका कारण एमाले छोड्नेको लर्को लागेको पनि उनको दाबी छ । एमाले अध्यक्ष केपी ओलीले वाम गठबन्धनका नाममा सरकार चलाउने र जनतालाई झुक्याउने खेल मात्रै खेलेको रावलको आरोप छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच तत्कालीन अवस्थामा मिलिजुली सरकार चलाउने गोप्य सहमति मात्रै भएको र जनतालाई एकता गर्ने भनेर झुक्याएको उनको आरोप छ ।
सरकार चलाउनका लागि मात्रै गरिएको सहमति नमिलेका कारण दुई तिहाई मत पाएर पनि तत्कालीन नेकपा धेरै समय टिक्न नसकेको रावलले बताए । रावलले एमाले सिद्धान्तबाट नभई ओली प्रवृतिमा चलेको आरोप पनि लगाए । ओली प्रवृतिका कारण विधि र सिद्धान्तको कुरा गर्ने कार्यकर्ता कारबाहीको सिकार हुने गरेको उनी बताउँछन् ।
सिद्धान्तबाट विमुख एमालेमा देखिएको गलत प्रवृतिलाई परास्त गर्न आफूले नयाँ पार्टी खोल्ने आँट गरेको उनले स्पष्ट पारे । आफूले गठन गर्ने पार्टीमा देशको हित चाहने, देशलाई सर्वोपरी ठान्ने सबै दल र कार्यकर्ता अटाउने उनको भनाइ छ ।
सम्बन्धित पाेस्टहरु