Agni Offset Press

गोदावरी नगर वडा नं १२ मा बर्थिङ सेन्टरको शिलान्यास

Aarati simant

अत्तरिया, २६ माघ : गोदावरी नगरपालिका वडा नं १२ को कोल्मुडा क्षेत्रमा बर्थिङ सेन्टरको शिलान्यास गरिएको छ । नगर प्रमुख बिरेन्द्र भट्टले शिलान्यास गर्दै यस क्षेत्रका महिलाहरूलाई सुरक्षित प्रसूति सेवा प्रदान गर्न यो केन्द्र महत्वपूर्ण हुने बताए ।
सुगम पालिकाको दुर्गम वडा मानिने वडा नं १२ को सिम, सल्लि,चाप, हलमुडे लगायतका स्थानमा आधारभूत स्वास्थ्य सेवाको अभाव थियो । विशेष गरी, प्रसूति सेवाको अभावका कारण महिलाहरू अकालमै ज्यान गुमाउने गरेका थिए । यसैकारण, नगरपालिकाले सुरक्षित मातृत्व सेवाका लागि बर्थिङ सेन्टर स्थापना गर्न पहल गरेको नगर प्रमुख बिरेन्द्र भट्टले बताए ।
शिलान्यास कार्यक्रममा नगर प्रमुख भट्टले चुनावी प्रतिबद्धताहरू क्रमशः पूरा गर्दै लैजान लागेको बताए । “विगतमा यहाँका जनताले सिटामोलसमेत खान समस्या भोग्नुपरेको अवस्था थियो । अहिले आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिसकेका छौं, र अब बर्थिङ सेन्टरले सुरक्षित मातृत्व सेवामा महत्वपूर्ण भूमिका खेल्नेछ,” उनले भने ।
कार्यक्रममा वडा अध्यक्ष भीमबहादुर खड्काले नगरपालिकाले बजेट विनियोजन गरेर बर्थिङ सेन्टर स्थापना गर्न सहयोग गरेकोमा नगर प्रमुख भट्टलाई धन्यवाद दिए । उनले यो परियोजना सफलतापूर्वक सम्पन्न गर्न स्थानीय तह, स्वास्थ्यकर्मी, र समुदायबीच समन्वय आवश्यक रहेको बताए ।
स्थानीय बासिन्दाहरूले बर्थिङ सेन्टर स्थापनाले धेरै महिलाहरूलाई राहत दिने विश्वास व्यक्त गरेका छन् । स्थानीय प्रेम विकका अनुसार स्वास्थ्य सुविधासँगै एम्बुलेन्स सेवाको पनि आवश्यक रहेको छ । “बर्थिङ सेन्टर खुलेपछि पनि आकस्मिक अवस्थामा अस्पताल लैजान कठिनाइ हुने भएकाले अब पालिकाले एम्बुलेन्स सेवाको व्यवस्था गर्ने अपेक्षा गरेका छौं,” उनले भने । नगरपालिकाले सुरक्षित मातृत्व सेवाको पहुँच बढाउन बर्थिङ सेन्टरलाई अत्याधुनिक उपकरण र दक्ष जनशक्तिसहित सञ्चालन गर्ने तयारी गरेको छ । यसले दुर्गम क्षेत्रका महिलाहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.