Agni Offset Press

अर्जुन ट्रफीका विजेता ‘सिवाईसी’ अत्तरिया टिमलाई गोदावरी नगरपालिकाद्वारा सम्मान

Aarati simant

अत्तरिया, २८ माघ : धनगढीमा सम्पन्न भएको अर्जुन ट्रफी क्रिकेट प्रतियोगितामा विजयी बनेको सिवाईसी अत्तरिया टिमलाई गोदावरी नगरपालिकाले सम्मान गरेको छ ।

मंगलबार  प्रतियोगिताको विजेता  ‘सिवाईसी’ अत्तरियालाई नगरपालिकामै आमन्त्रित गराएर नगर प्रमुख विरेन्द्र भट्टले खादा ओढाएर मायाको चिनो प्रदान गरी सम्मान गरेका हुन् ।

सम्मान समारोहमा नगरप्रमुख विरेन्द्र भट्टले खेलाडीहरूको व्यक्तित्व विकासका लागि स्थानीय सरकारको विशेष भूमिका रहने बताए । उनले खेलकुद युवालक्षित कार्यक्रम भएकाले नगरमा यसलाई विशेष प्राथमिकताका साथ अघि बढाइरहेको बताए ।

नगर प्रमुख भट्टले गोदावरी नगरपालिका वडा नं. ३ मा रहेको ४६ विघाको खुला जमिनलाई प्रदेशकै सबैभन्दा ठूलो खेलमैदानका रूपमा विकास गर्ने योजना रहेको बताए । जसमा नगरपालिकाले उक्त क्षेत्रमा ३÷४ वटा क्रिकेट पिचहरू निर्माण गर्ने निर्णय गरिसकेको छ, भने जसले दुई महिना भित्रै क्रिकेट अभ्यास सुरु गर्न सकिने बताए ।

भट्टले पछिल्लो समय गोदावरीमा क्रिकेटको लोकप्रियता बढ्दै गएको उल्लेख गर्दै, प्रदेशस्तरीय खेलमैदान निर्माणका लागि नगरपालिकाले सर्वेक्षण गरिसकेको बताए । उनले  “गोदावरीको फोहोरमैला व्यवस्थापन केन्द्र पछाडि रहेको ४६ विघा जमिनमा खेलमैदान निर्माण गर्न पहल गरिएको यसका लागि कुनै रुख समेत काट्न आवश्यक नरहेको बताए ।

उक्त योजना नगरको बजेट मात्रबाट सम्भव नभएकाले अन्य निकायहरूसँग सहकार्य गर्ने योजना गरिएको बताए । भट्टका अनुसार आगामी ५÷६ वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणको लक्ष्य राखिएको समेत बताए ।

नगर प्रमुख भट्टले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसँग यस विषयमा छलफल गरिसकेको जानकारी दिए । प्रदेश सरकारले खेल मैदानको विकासमा सहयोग गर्नुपर्ने भन्दै उनले मुख्यमन्त्री, मन्त्री र सांसदहरूलाई पटक–पटक अनुरोध गरे पनि हालसम्म ठोस पहल नभएको बताए ।

गोदावरी नगरपालिकाले अघिल्लो कार्यकालमा वडा नं. २ मा दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा रंगशाला निर्माण गर्ने प्रयास गरेको थियो । तर, क्षेत्र सानो भएकाले त्यसलाई अन्तर्राष्ट्रिय रंगशाला बनाउन नसकिने निष्कर्ष निकालिएको भट्टले बताए । हाल त्यो क्षेत्र साना खेलकुद गतिविधिका लागि प्रयोग भइरहेको छ ।

गोदावरी नगरपालिकाले प्रदेशकै पहिलो अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने लक्ष्य लिएको छ । उक्त योजना सफल भएमा, यसले स्थानीय, प्रदेश र राष्ट्रियस्तरका खेलाडीहरूलाई ठुलो अवसर प्रदान गरे विश्वास रहेको साथै नगरपालिकाले छिट्टै खेल मैदान निर्माणको प्रक्रिया अघि बढाउने बताएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.