गरिमाको न्यायका लागि धनगढीमा दीप प्रज्वलन

धनगढी  : तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै धनगढीमा दीप प्रज्वलन गरिएको छ।

धनगढी उपमहानगरपालिका–३, विशालनगरका महिलाहरूले आइतबार साँझ धनगढीको ट्राफिक चौराहामा दीप प्रज्वलन गर्दै बालिका चौधरीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।

दीप प्रज्वलनमा सहभागी महिलाहरूले घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनअनुसार हदैसम्मको कारबाही गर्न माग गरे। उनीहरूले बालबालिकामाथि हुने यस्ता जघन्य अपराधविरुद्ध राज्यले प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनुपर्ने र विद्यमान कानुनको कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागीहरूले बालबालिकाको सुरक्षा राज्यको प्राथमिक दायित्व भएकाले यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन र प्रभावकारी सुरक्षा संयन्त्र निर्माण गर्न सरकारसँग मागसमेत गरेका छन्।

गरिमा चौधरीको घटनालाई लिएर पछिल्लो समय देशका विभिन्न स्थानमा न्यायको माग गर्दै प्रदर्शन, दीप प्रज्वलन तथा विरोधका कार्यक्रम भइरहेका छन्। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिनसँगै पीडित परिवारलाई न्याय र बालबालिकाको सुरक्षित वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.